आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने भएको छ । आयोगले आज आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका हुन् ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए । तीमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेश गरेको उनले जानकारी दिए । बन्दसूची पेश गर्ने दलमध्ये ५४ वटा दलले आ-आफ्नै निर्वाचन चिह्न प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चार वटा साझा निर्वाचन चिह्नमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूची पेश गरेका छन् ।
उनले यसअघि बन्दसूची पेश हुनुअघि नै मतपत्र छपाइको काम गरिएको भएकोले सबै दलका चुनाव चिह्न समेटेर मतपत्र छापिने बताए । तर यसपटक भने समानुपातिक बन्दसूची पेश गरेका दलको चुनाव चिह्न मात्रै राखेर मतपत्रको छपाई गरिने उनले जानकारी दिए ।
उनका अनुसार हालसम्मको विवरणअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिह्नको संख्या ५८ रहने निश्चित भएको छ । आयोगले बन्दसूचीको रुजु प्रक्रिया जारी राखेकाले कुनै दलको सूची अस्वीकृत भएमा सो संख्या घट्नसक्ने उनले बताए ।
उनले बन्दसूचीमा समानुपातिक कलष्टर नमिलेको अवस्था र बन्दसूचीमा भएको उम्मेद्वारले नाम फिर्ता लिन चाहेको बेलामा मात्रै बन्दसूचीमा रहेका नाम परिवर्तन गर्न सकिने बताए । अन्यथा नाम परिवर्तन गर्न नमिल्ने उनको भनाइ छ । अन्तिम सूची प्रकाशित भएपछि भने केही गर्न नमिल्ने उनले जानकारी दिए । उनले निर्वाचनमा पर्यवेक्षण गर्नको लागि ४० वटा पर्यवेक्षण संस्थाले अनुमति पाएको जानकारी जानकारी दिए ।