चिसो ह्वात्तै बढेपछि पश्चिम तराईको जनजीवन कष्टकर

Yangle News
रासस
२०७९ पुस १४ गते
चिसो ह्वात्तै बढेपछि पश्चिम तराईको जनजीवन कष्टकर

तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ ।

बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् । नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताए । “चिसोले घरबाहिर निस्किन सकिएको छैन”, उनले भने ।

चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका–४ का रामदिन गोडियाले बताए । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् ।

चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् ।

435 views