निलम्बन फुकुवा गर्न राखेपलाई एन्फाको आग्रह

Yangle News
Yangle News
२०८२ चैत्र २४ गते
निलम्बन फुकुवा गर्न राखेपलाई एन्फाको आग्रह

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई आफूमाथिको निलम्बन ७ दिनभित्र फुकुवा गर्न आग्रह गरेको छ ।

एन्फाले पत्रमार्फत राखेपलाई निलम्बन फुकुवा गर्न अनुरोध गरेको हो । एन्फाका अनुसार अन्तर्राष्ट्रिय फुटबल निकायहरूले राखेपको निर्णयलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै अस्वीकार्य ठहर गरेका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपले एन्फालाई निलम्बन गरेको घटनाक्रमबारे पत्राचार गर्दै स्थगित भएको चुनावी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको पनि एन्फाले जनाएको छ ।

फिफाले गएको चैत १३ गते स्थगित भएको चुनावी प्रक्रिया पुनः शुरू गरी ७ दिनभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । फिफाको निर्देशन पालना नगरे त्यसबारे फिफा काउन्सिलमा जानकारी गराइने र नेपाललाई निलम्बनका लागि सिफारिस गर्न सक्ने चेतावनी पनि दिएको छ । यस्तो अवस्था आएमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गुमाउने र फिफा तथा एएफसीबाट प्राप्त हुने आर्थिक सहयोग पनि रोकिने जोखिम रहेको पत्रमा उल्लेख छ ।

पटक-पटकको तहगत चुनाव गर्न आफूले दिएको निर्देशनलाई अटेर गरेपछि राखेपले गएको चैत ११ गतेको निर्णयअनुसार एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो ।