तत्काल चुनावी प्रक्रिया अगाडि नबढाए एन्फालाई निलम्बनको चेतावनी

Yangle News
Yangle News
२०८२ चैत्र २२ गते
तत्काल चुनावी प्रक्रिया अगाडि नबढाए एन्फालाई निलम्बनको चेतावनी

राष्ट्रिय खेकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पछिल्लो परिस्थितिमाथि प्रतिक्रिया जनाउँदै पत्राचार गरेको छ ।

फिफाले राखेपको निलम्बनलाई ‘तेस्रो पक्षको हस्तक्षेप’को रूपमा लिँदै स्थगित भएको चुनाव तत्काल गर्न निर्देशन दिएको एन्फाले जनाएको छ । एन्फाका अनुसार फिफाले यसअघि रोकिएकै अवस्थाबाट प्रक्रिया पुनः सुरु गरी ७ दिनभित्र चुनाव गर्न निर्देशन दिएको छ ।

यदि राखेपले निलम्बन फुवुवा नगरे तथा पत्र प्राप्त भएको ७ दिनभित्र आफ्नो चुनावी प्रक्रिया पुनः सुरु गरी सम्पन्न गर्न सक्ने कुरा लिखित रूपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बनका लागि फिफा काउन्सिलमा पेश गर्ने फिफाले चेतावनी पनि दिएको छ ।

पटक-पटकको निर्देशन तथा सरोकारवालाको विरोधका बावजुद ५ असारसम्म कार्यकाल रहेको नेतृत्वले १३ चैतमा झापामा चुनाव गर्न खोजेपछि राखेपले ११ चैतमा एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो । राखेपले निलम्बन गर्ने क्रममा एन्फालाई ३ महिनाभित्र पूरा गर्न भन्दै ११ बुँदे निर्देशन दिएको थियो ।

निलम्बनमा परेपछि एन्फाले १२ चैतमा फिफा तथा एएफसीका प्रतिनिधिहरूको सहमतिमा चुनाव स्थगित गरेको थियो ।

कार्यकाल सकिनुभन्दा तीन महिनाअगाडि नै गर्न खोजिएको चुनावमा एन्फा नेतृत्वले ४ वर्षअघिकै जिल्ला प्रतिनिधिलाई मताधिकार दिएर थप ४ वर्षका लागि केन्द्रमा आफू अनुमोदित हुने रणनीति बनाएको थियो । सरोकारवाला तथा राखेपले भने पहिला जिल्लाको चुनाव गरेर नयाँ प्रतिनिधि ल्याएर मात्र चुनाव गर्नुपर्ने अडान राखेका थिए ।

यदि फिफाबाट एन्फा निलम्बनमा परे नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने छैन भने फिफा र एएफसीबाट प्राप्त हुने सबै विकास कोष र आर्थिक सहयोग रोक्का हुनेछ । यसैगरी, फिफाका अन्य सदस्य राष्ट्रहरूले एन्फासँग कुनै पनि प्रकारको खेलकुदका कार्यक्रम गर्न पाउने छैनन् ।

पत्र :

Yangle News Yangle News