सपना प्रधान मल्ललाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

Yangle News
Yangle News
२०८२ चैत्र १८ गते
सपना प्रधान मल्ललाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश भएकी छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण मंगलबार सेवा निवृत्त भएपछि मल्लले बुधबारदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएकी हुन् ।

२०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त भएका राउत ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश भएका हुन् । मल्ल भने २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । नेपालको संविधानको धारा १२९ (९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ ।

प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम अघिल्लो महिना नै सिफारिस गरेको छ ।

प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा एक महिना अगाडि संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।