संखुवासभाको मादीमा ब्याडमिन्टन प्रतियोगिता : ३ विधामा प्रतिस्पर्धा

Yangle News
Yangle News
२०८१ फाल्गुन २३ गते
संखुवासभाको मादीमा ब्याडमिन्टन प्रतियोगिता : ३ विधामा प्रतिस्पर्धा

संखुवासभाको मादी नगरपालिकामा ‘चौथो मादी राष्ट्रिय खुला महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता’ आयोजना हुने भएको छ । ‘पृथक पहिचान : मादी नगरपालिकाको सान’ भन्ने नारासहित ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

बिहीबार मादी नगरपालिकाले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी दिएको छ । नगरप्रमुख जीवन लिङ्थेपले पुरुष डबल, महिला डबल र पुरुष डबल भेट्रान्स प्रतियोगितामा स्थानीयदेखि राष्ट्रियस्तरका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने जानकारी दिए । मादी नगरपालिकाले विगतका वर्षहरूदेखि नै खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको उपप्रमुख सुनितादेवी भट्टराई दाहालले बताइन् । प्रतियोगिता यही फागुन २९ देखि सुरु भई चैत ३ गते समापन हुनेछ ।

प्रतियोगितामा पुरुष डबल्सतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टिमले क्रमशः ७५ हजार, ५० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरुष डबल भेट्रान्सतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टिमले क्रमशः ५० हजार, ३० हजार र १० हजार रुपैयाँ तथा महिला डबल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने दुई टिमले क्रमशः ४० हजार, ३० हजार र १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।