प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको ऐतिहासिक विजय, आर्मी अपराजित

Yangle News
Yangle News
२०८२ चैत्र १५ गते
प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको ऐतिहासिक विजय, आर्मी अपराजित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौंमा हुने निर्धारण भएका खेलहरू सकिएका छन् ।

माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने निर्धारण भएका १५ खेलहरू आज सकिएका हुन् । बाँकी खेलहरु मधेस प्रदेशका जनकपुर र वीरगञ्जमा हुनेछन् ।

आज तल्लो मुलपानी मैदानमा भएको खेलमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा पहिलोपटक विभागीय टोलीमाथि ऐतिहासिक जित हासिल गरेको छ । गण्डकीले एपिएफ क्लबलाई ४३ रनले पराजित गरेको हो । वर्षाका कारण ढिला सुरु भएको खेलमा प्रत्येक टोलीले समान २१ ओभर पाएका थिए ।

गण्डकीले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको एपिएफ १८ दशमलब ३ ओभरमा १ सय ७ रनमा अल आउट भयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश २१ ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आजै सम्पन्न अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गर्दै प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ । वर्षा कारण २८ ओभरमा छोट्याइएको खेलमा आर्मीले बागमतीलाई ३ विकेटले पराजित गरेको हो ।

बागमतीले दिएको २ सय ९ रनको लक्ष्य आर्मीले इनिङको अन्तिम बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि आर्मीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २८ ओभरमा २ सय ८ रनको योगफल तयार गरेको थियो ।

आज पहिलो जित हात पारेको गण्डकीको चौथो खेलबाट ३ अंक भएको छ । पराजित एपिएफको समान खेलबाट ३ अंक नै रहेको छ । ४ खेलमा ७ अंकका साथ आर्मी शीर्ष स्थानमा उक्लिएको छ । पराजित बागमती समान खेलमा २ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ ।

भोलि जनकपुरमा मधेस र कर्णाली तथा वीरगञ्जमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीच खेल हुने तालिका रहेको छ ।