नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । नेपालले सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भुटानविरुद्ध २-१ को साँघुरो जित निकालेको हो ।
नेपाललाई जित दिलाउन सुजन डंगोल र सुवास बमले १/१ गोल गरे । भुटानका लागि घेन्डुप ग्याल्टसेनले १ गोल फर्काए । खेलको पाँचौं मिनेटमा सुजनको गोलमार्फत नेपालले अग्रता लिएको थियो । आफ्नै टोलीका खेलाडीले दिएको ब्याक पासलाई भुटानी गोलकिपर तानदिन पेन्जोरले समातेपछि नेपालले ‘इनडाइरेक्ट फ्रिकक’ पाएको थियो । उक्त अवसरमा जोन विष्टले दिएको ब्याक पासलाई सुजनले पोस्टको दिशा दिए ।
सुवासले ५२औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो । धेनदुप ग्याल्टसेनले ८३औं मिनेटमा गोल गर्दै भुटानलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।
जितसँगै समूह ‘ए’को नेपालले ३ अंक जोडेको छ । भुटानका लागि भने प्रतियोगिताको सुरुवात सुखद रहन सकेन । अब बुधबार नेपालले श्रीलंकाको सामना गर्नेछ । भुटान सोही दिन घरेलु टोली माल्दिभ्ससँग भिड्नेछ ।