अघिल्ला वर्षको तुलनामा पाँच गुणा घट्यो डेंगु संक्रमण

Yangle News
Yangle News
२०८२ चैत्र ४ गते
अघिल्ला वर्षको तुलनामा पाँच गुणा घट्यो डेंगु संक्रमण

सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेंगुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम गर्न निर्देशन दिइएको बताए । ‘सचेतना कार्यक्रमले डेंगु संक्रमण घट्दै गएको पाइएको छ,’ उनले भने, ‘गर्मी सुरुसँगै डेंगु संक्रमण जोखिम रहेका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेका छौं ।’

महाशाखाका अनुसार अघिल्ला वर्षको तुलनामा गत वर्ष डेंगु संक्रमण पाँच गुणा घटेको पाइएको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा पाँच गुणा डेंगु संक्रमण घटेको छ । सन् २०२४ मा ४१ हजार ८६५ जनामा डेंगु संक्रमण देखिएको थियो भने सन् २०२५ मा त्यसको करिब पाँच गुणा कम आठ हजार ५७६ जनामा डेंगु संक्रमण देखिएको थियो ।

शाखा प्रमुख डा‍ दाहालले सरकारको डेंगु संक्रमणविरुद्ध सञ्चालन गरेको अभियानले गर्दा घटेको बताए । सरकारले प्रत्येक शुक्रबार सरकारी कार्यालयमा डेंगु संक्रमण सार्ने लार्भा खोज र नष्ट गरे अभियान सञ्चालन गरेको थियो । शाखाका प्रमुख डा दाहालले समुदायको पहलमा नै डेंगु संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सकिएको बताए ।

उनका अनुसार सन् २०२३ मा ५२ हजार ७९० जना, सन् २०२२ मा ५४ हजार ७८४ जनामा डेंगु संक्रमण देखिएको थियो । यस्तै गत असारदेखि भदौसम्म एक हजार युवा परिचालन गरेर डेंगु सार्ने लामखुट्टे नियन्त्रण र जनस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

यस वर्ष पनि गर्मीयाम सुरुसँगै डेंगुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको उनले जानकारी दिए ।