शहीद स्मारक एन्फा महिला लिग-२०८२ मा आज भएका २ खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् ।
च्यासल मैदानमा आज भएको पहिलो खेलमा संकटा क्लबले न्यूरोड टिम (एनआरटी) लाई ४-० ले पराजित गरेको हो । संकटाले पहिलो हाफमा ३-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा १ गोल थप्दै संकटाले खेल जितेको हो ।
संकटाका लागि खेलको छैटौं मिनेटमा विन टुनले गोल गर्दै अग्रता बनाएकी हुन् । २६औं मिनेटमा लुसिया मोकाम्बिले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएकी हुन् । दोस्रो गोलको २ मिनेटपश्चात सुक्रिया मियाले गोल गर्दै पहिलो हाफ एकतर्फी रुपमा संकटाको पक्षमा परेको हो ।
खेलको ५२औं मिनेटमा क्विनाबेल अमान्ख्राले संकटाको लागि चौथो गोल गरिन् । न्यूरोडले सान्त्वना गोल समेत फर्काउन सकेन । आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले झापा एफसीलाई ५-० ले हराएको छ । आर्मीको जितमा अन्जना थुलुङ राईले २ गोल गरिन् ।
दिपा शाही, हिमा चौधरी र तुलसा बोहोराले १-१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा आर्मीले ५ गोल गर्यो । खेलको ५७औं मिनेटमा दिपा शाहीको गोलमार्फत आर्मीले अग्रता बनाएको थियो । ६८औं मिनेटमा हिमा चौधरीले गोल गरिन् । खेलको ८६औं मिनेट र खेलको निर्धारित समयको अन्तिम मिनेटमा अन्जनाले लगातार २ गोल गरिन् । नियमित खेलको थप गरिएको समयमा तुलसा बोहोराले गोल गर्दै आर्मीको ५-० को जित सुनिश्चित गरिन् ।
प्रतियोगिताको दोस्रो दिन बिहीबार दुई खेल हुनेछन् । बिहान ११ बजे हुने पहिलो खेलमा बागमती युवा क्लबले आरएस पोखराको सामना गर्नेछ । त्यसपछि दिउँसो ३ बजे विभागीय टोली नेपाल पुलिस कलब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुनेछन् ।