राष्ट्रिय समस्याको समाधानका लागि सर्वपक्षीय पहल गरेर मात्रै निर्वाचनमा जानु उचित : पूर्वराजा शाह

Yangle News
Yangle News
२०८२ फाल्गुन ६ गते
राष्ट्रिय समस्याको समाधानका लागि सर्वपक्षीय पहल गरेर मात्रै निर्वाचनमा जानु उचित : पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा बुधबार आठ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गरेका छन् । सन्देशमा उनले वर्तमान निर्वाचन प्रक्रियालाई अस्वीकार गर्दै राष्ट्रिय समस्याको समाधान र सर्वपक्षीय समझदारीको आवश्यकता औँल्याएका छन् ।

पूर्वराजा शाहले आफ्नो सन्देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिने राजा त्रिभुवन र सहिदहरूको सम्झना गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन् । केही महिनाको झापा बसाइपछि काठमाडौं फर्किँदा गत फागुन २१ गते स्वागत गर्ने सर्वसाधारण, आदिवासी र नागरिकप्रति उनले कृतज्ञता व्यक्त गरेका छन् ।

उनले देश अहिले असामान्य र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै द्वन्द्व रोक्न र सद्भाव बढाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस जनताले गरेका छन्,’ पूर्वराजाले भनेका छन् ।

पूर्वराजा शाहले प्रजातन्त्रमा संवैधानिक प्रक्रिया र आवधिक निर्वाचन आवश्यक भए पनि वर्तमान अवस्थामा राष्ट्रिय समस्याको समाधान नजिक नभएसम्म निर्वाचनमा जानु उपयुक्त नहुने बताए । ‘प्रजातन्त्रमा राजनीतिक प्रक्रिया संवैधानिक मान्यताअनुसार चल्नुपर्छ । प्रजातन्त्रमा आवधिक निर्वाचन स्वभाविक पनि हो,’ उनले भनेका छन्, ‘तर अहिले मुलुकमा पहिलो शर्त राष्ट्रिय समस्याको समाधान हो । राष्ट्रिय समस्याको समाधानका लागि सर्वपक्षीय पहल गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ । फेरि अर्को द्वन्द्व हुन नदिन सबैलाई समझदारीमा ल्याएर मात्रै निर्वाचनमा जाँदा देशले सही बाटो समात्ने थियो ।’

उनले अधिकार मात्रै खोज्ने तर कर्तव्य पालना नगर्ने प्रवृत्ति बढेको बताए र सबैलाई कर्तव्यवोधको आधारमा देशलाई संकटबाट निकाल्न आग्रह गरेका छन् । सन्देशमा पूर्वराजाले देशको भूगोल र प्राकृतिक प्रणाली अनुसार मात्र स्थायित्व सम्भव भएको र व्यवस्थाका राम्रा पक्षलाई कायम राख्दै जनताको जीवन सरल बनाउँदै जानुपर्ने कुरामा पनि जोड दिएका छन् । ‘देशको भूबनोट र प्रकृति अुनसाारको प्रणालीले मात्रै देशलाई स्थायित्व दिन सक्छ । कुनै व्यवस्थाका राम्रा र असल पक्ष राख्नुपर्छ । जुनै व्यवस्थामा पनि खराब र नराम्रा पक्ष हुन्छन्’, उनले भने, ‘आमुल परिवर्तन र परिमार्जन गर्दै जनताको जीवन सरल र सहज बनाउँदै जानुपर्छ । प्रजातन्त्रमा सबै थरी विचार र संस्कारको आधार हुनुपर्छ ।’

उनलले देश अहिले अस्वभाविक छटपटीको भूमरीमा रहेको बताए । ‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस जनताले गरेका छन्’, उनले भने, ‘विगतामा अनेकौं नाममा संघर्ष र आन्दोलन भए । संघर्षका आडमा पटक पटक परिवर्तन पनि भए । तर ती परिवर्तनले नेपाल र नेपालीलाई के दिए, समीक्षा गरौँ । अहिले हाम्रो शत्रु विपन्नता र अस्थिरता हो ।’

सामाजिक मूल्य, संस्कार र सबै विचारको सम्मानको आवश्यकता औंल्याउँदै उनले राष्ट्र र समाजको सेवामा अग्रसर हुन सबैमा दायित्वको भावना जगाउन चाहेको बताएका छन् ।