इस्लामावादमा आत्मघाती विस्फोट : ३१ जनाको मृत्यु, १६९ घाइते

Yangle News
Yangle News
२०८२ माघ २३ गते
इस्लामावादमा आत्मघाती विस्फोट : ३१ जनाको मृत्यु, १६९ घाइते

पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबारको नमाजका क्रममा एक शिया मस्जिदमा आत्मघाती आक्रमण भएको छ । पाकिस्तानी अखबार ’द डन’का अनुसार यस आत्मघाती हमलामा ३१ जनाले ज्यान गुमाएका छन् भने १ सय ६९ जना गम्भीर घाइते भएका छन् ।

घटनालगत्तै प्रहरी र उद्धार टोलीले घटनास्थल पुगेर राहत कार्य सुरु गरेका छन् भने घाइतेहरूलाई अस्पताल पुर्‍याउन राजधानीका सबै अस्पताललाई उच्च सतर्कतामा राखिएको छ । विस्फोटपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै इस्लामावादका प्रहरी प्रमुखले संकटकाल घोषणा गरेका छन् ।

हालसम्म कुनै पनि आतंकवादी समूहले यस बीभत्स घटनाको जिम्मेवारी लिएको छैन तर हताहत हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले आशंका गरेका छन् । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निर्दोष मानिसहरूलाई निशाना बनाउनु मानवता विरुद्धको अपराध भएको बताएका छन् । उनले घाइतेहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न सम्बन्धित निकायलाई कडा निर्देशनसमेत दिएका छन् ।

मन्त्री डा. तारिक फजल चौधरीले पनि सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गर्दै यस्ता आततायी क्रियाकलापले देशको हौसला तोड्न नसक्ने उल्लेख गरेका छन् । उनले शान्तिका लागि सबैलाई एकजुट हुन र सुरक्षा निकायलाई साथ दिन अपिल गरे ।

पाकिस्तानमा पछिल्लो समय आतंकवादी गतिविधि तीव्र बनेको छ । यसअघि नोभेम्बर २०२५ मा पनि इस्लामावादको अदालतबाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाले ज्यान गुमाएका थिए । ग्लोबल टेररिज्म इन्डेक्स २०२५ का अनुसार पाकिस्तान विश्वकै दोस्रो सबैभन्दा बढी आतंकवाद प्रभावित देश बनेको छ । सन् २०२४ मा चौथो स्थानमा रहेको पाकिस्तान अहिले बुर्किना फासोपछि दोस्रो स्थानमा उक्लिएको हो ।