२०औं एशियाड : नेपालबाट ३२ खेलका ४ सय ३४ खेलाडी दर्ता

Yangle News
Yangle News
२०८२ अशोज १ गते
२०औं एशियाड : नेपालबाट ३२ खेलका ४ सय ३४ खेलाडी दर्ता

सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म जापानको आइची र नागोयामा शहरमा हुने २०औं एशियाली खेलकुद (एशियाड)मा नेपालबाट ४ सय ३४ खेलाडी सहभागी हुने भएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार आयोजक समितिले तय गरेको मिति अनुसार सन् २०२५ जुन ३० भित्र नेपालले ३० वटा खेलहरूमा सहभागी हुने जानकारी गराउँदै दर्ता प्रक्रिया पूरा गरिसकेको थियो । त्यसअनुसार नेपालका विभिन्न खेल संघहरूले पठाएका प्रस्तावका आधारमा उक्त खेलहरू छनोट गरिएको थियो ।

यस्तै, एशियाडका लागि खेलाडीको संख्या दर्ता गर्ने अन्तिम मिति यही सेप्टेम्बर १६ सम्म रहेकाले नेपाल ओलम्पिक कमिटीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग पटक-पटक सम्पर्क गर्दा पनि आवश्यक विवरण नपाएको एनओसीले जनाएको छ ।

एनओसीका अनुसार त्यसपछि कमिटीले दर्ता गरिएका ३० खेल संघसँग सम्पर्क गरी उपलब्ध खेलाडी संख्याको आधारमा दर्ता प्रक्रिया सम्पन्न गरिएको हो । साथै, जुन ३० मा दर्ता नभएका तर लोकप्रिय र पदक सम्भावित खेलहरूलाई समेत सहभागितामा ल्याउने उद्देश्यले तेक्वान्दो र फुटबल संघहरूलाई पुनः पत्राचार गरिएको थियो ।

ती संघहरूले पठाएको खेलाडी संख्याको आधारमा सो दुई खेल पनि नेपालबाट एशियाडका लागि थप गरेर पठाइएको छ । एथलेटिक्स संघबाट कुनै जानकारी नआएकाले विगतको सहभागिता हेरेर नेपाल ओलम्पिक कमिटीले एक पुरुष र एक महिला गरी दुई जना म्याराथन खेलाडीको नाम दर्ता गरेको छ ।

यससँगै २०औं एशियाडमा नेपालको तर्फबाट ३२ खेलका २३९ पुरुष र १९५ महिला गरी कुल ४ सय ३४ जना खेलाडीको सहभागिता दर्ता गरिएको छ । नेपाल ओलम्पिक कमिटीले सम्पूर्ण सरोकारवालालाई यसबारे जानकारी गराइसकेको बताइएको छ ।

थप गरिएका फुटबल र तेक्वान्दोसहित नेपालबाट २०औं एशियाडका लागि दर्ता भएका खेल अन्य खेलमा एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, बेसबल एण्ड सफ्टबल, राफ्टिङ एण्ड क्यानोइङ, कुराँस, क्रिकेट, साइक्लिङ, इ-स्पोर्टस, गल्फ, हकी, जुडो, कबड्डी, कराते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटिङ, स्पोर्ट्स क्लाइम्बिङ, स्क्वास, पौडी, टेनिस, भलिबल, भारतोलन, उसु, टेबलटेनिस, कुस्ती र सफ्ट टेनिस रहेका छन् ।

Yangle News