प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचन दुई चरणमा हुनसक्ने प्रधानमन्त्री कार्कीको अभिव्यक्तिपछि उनीहरूबीच भेट भएको हो ।
नवलपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन दुई चरणमा हुनसक्ने बताएपछि ओलीले समय मागेर भेट गरेका हुन् । भेटका क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीलाई एकैपटक चुनाव गर्न आग्रह गरेका थिए । दुई चरणमा हुने चुनाव आफूहरूलाई स्वीकार्य नहुने उनको भनाइ थियो । उनले निर्धारित मितिमा चुनाव हुन नसक्ने अर्को मितिमा सार्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले दुई चरणमा चुनाव गर्ने सरकारको मनसाय नरहेको बताएकी थिइन् । उनले फागुन २१ गतेसम्म मौसम पनि सुध्रिने आशा व्यक्त गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले भक्तपुरमा पनि बिहीबार पत्रकारहरूसँग एकै चरणमा चुनाव हुने बताएकी थिइन् ।
उनले आफूले आँटेका कामहरू सबै पूरा भइरहेकाले मौसमले पनि साथ दिने विश्वास व्यक्त गरेकी थिइन् । त्यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग निर्वाचनमा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताएका थिए ।