अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमसम्बन्धी सम्झौताका लागि वार्ता गर्न अब धेरै समय बाँकी नरहेको चेतावनी दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमशः बढ्दै गएको सन्दर्भमा ट्रम्पले ‘समय सकिँदै गएको’ भन्दै इरानमाथि दबाब बढाएका हुन् ।
ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक फौज इरानतर्फ ‘तीव्र गति, शक्ति, उत्साह र स्पष्ट उद्देश्यसहित’ अघि बढिरहेको दाबी गरेका छन् । ट्रम्पको पछिल्लो चेतावनी यसअघि इरानमा भएको प्रदर्शनमाथिको कठोर दमनपछि आएको हो । इरानी मुद्राको मूल्य तीव्र रूपमा घटेपछि शुरू भएका प्रदर्शन क्रमशः धार्मिक नेतृत्वको वैधतामाथि प्रश्न उठ्ने गम्भीर संकटमा परिणत भएका थिए ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले भने देशका सशस्त्र बलहरू स्थल वा समुद्रमार्गबाट हुने कुनै पनि आक्रमणको ‘तत्काल र शक्तिशाली’ जवाफ दिन तयार रहेको बताएका छन् । इरानले आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी रूपमा विकसित एक हजार ‘रणनीतिक युद्धक’ ड्रोनहरू तैनाथ गरेको बताएको अर्धसरकारी समाचार संस्था तास्निम न्यूज एजेन्सीले जनाएको छ । सेना प्रमुख अमिर हतामीको आदेशमा ती ड्रोन सेनाको स्थल, वायु रक्षा र नौसेनालाई वितरण गरिएको बताइएको छ ।
इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । अमेरिकालगायत उसका सहयोगी राष्ट्रहरूले इरानले परमाणु हतियार विकास गर्न खोजिरहेको आरोप लगाउँदै आएको छ । सन् २०१५ मा भएको परमाणु सम्झौताअनुसार इरानलाई ३.६७ प्रतिशतभन्दा बढी युरेनियम संवर्धन गर्न प्रतिबन्ध लगाइएको थियो । तर ट्रम्पले सन् २०१८ मा उक्त सम्झौता त्याग्दै इरानमाथि कडा प्रतिबन्ध लगाएपछि तेहरानले सम्झौताका सीमाहरू उल्लंघन गर्न थालेको थियो ।
गत जुनमा अमेरिकाले फोर्डो, नताञ्ज र इस्फाहानस्थित युरेनियम संवर्धन केन्द्रमा आक्रमण गरेको थियो । अमेरिकी अधिकारीहरूले त्यसले इरानको परमाणु हतियार निर्माण क्षमतामा ठूलो धक्का दिएको दाबी गरेका थिए । उक्त आक्रमणको जवाफमा इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेको थियो ।
यसैबीच, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) ईरानमाथिको सम्भावित आक्रमणको विपक्षमा उभिएका छन् । दुवै मुलुकले इरानविरुद्ध आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यस निर्णयले अमेरिकाको सम्भावित सैन्य कारबाहीमा अवरोध हुने भएको छ । साउदी अरेबियामा अमेरिकाका २३ सय र युएईस्थित अल दाफ्रा एयर वेसमा ५ हजार सैनिक रहेको बताइन्छ ।