आईसीसी टी-२० विश्वकप खेल्ने नेपालको जर्सी सार्वजनिक

Yangle News
Yangle News
२०८२ पुस २१ गते
आईसीसी टी-२० विश्वकप खेल्ने नेपालको जर्सी सार्वजनिक

आईसीसी टी-२० विश्वकप २०२६ खेल्ने नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार आईसीसी विश्वकप २०२६ को ट्रफीसँगै विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको हो ।

नेपालको जर्सी गाढा निलो रंगमा चन्द्र र सूर्य अंकित रहेको छ । टिटेनको आधिकारिक जर्सी किनेको खण्डमा ७९९ रुपैयाँ लाग्नेछ । खेलाडीको आधिकारिक जर्सी तीन हजार ४९९ रुपैयाँमा बिक्री गरिने बताइएको छ । रेप्लिका जर्सीको मूल्य एक हजार ५९९ रुपैयाँ रहेको छ । समर्थकहरूका लागि जर्सी ७९९ रुपैयाँमा उपलब्ध गराउने भाटभटेनी होल्डिङका म्यानेजर आलोक श्रेष्ठले बताए ।

जर्सी सार्वजनिक गर्ने क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा क्रिकेटको क्रेज बढेको बताए । ‘आईसीसीले विश्वकप २०२६ मा खेल्ने २० वटा देशमा ट्रफी टुरले विश्वमा क्रिकेटको क्रेज बढेको छ । यसका कारण नेपालमा पनि क्रिकेटको क्रेज बढेको छ,’ उनको भनाई छ ।

उनले नेपालका विभिन्न विश्वसम्पदा सूचीमा परेका क्षेत्रहरूमा विश्वकप-२०२६ को ट्रफी टुर गराइने बताए । उनले भने, ‘आज विश्वकपको ट्रफी सगरमाथा बेस क्याम्प लैजाने कार्यक्रम रहे पनि मौसमका कारणले उक्त ठाउँमा लैजान सकिएन ।’

नेपालले तेस्रोपटक विश्वकप खेल्दै छ । नेपालले पहिलोपटक २०१४ मा विश्वकप खेलेको थियो । त्यसपछि एक दशकको प्रतिक्षामा नेपालले दोस्रोपटक सन् २०२४ मा विश्वकप खेल्यो नेपालले सन् २०२६ मा तेस्रोपटक विश्वकप खेल्दैछ ।

Yangle News