भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको धम्की

Yangle News
Yangle News
२०८२ पुस २१ गते
भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई ‘नराम्रो हाल’ बनाउने धम्की दिएका छन् । ट्रम्पले भनेका छन्, ‘यदि डेल्सीले भेनेजुएलाका लागि अमेरिका जो सही ठान्छ त्यो नगरेमा उनीहरूको हाल मादुरोभन्दा पनि बढी नराम्रो हुन सक्छ ।’

एक दिनअघि ट्रम्पले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रोड्रिगेजसँग कुरा गरेको बताए थिए । उनीहरू भेनेजुएलामा जनताको जीवनस्तर सुधार्न अमेरिकाको अपेक्षाअनुसार काम गर्न तयार छन् । न्यूयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा ट्रम्पले रोड्रिगेजले अमेरिकाको कुरा मानिन् भने भेनेजुएलामा अमेरिकी सेना तैनाथ गर्नु नपर्ने बताएका छन् । अर्कातर्फ, रोड्रिगेजले मादुरोलाई सत्ताबाट हटाउने कुराको आलोचना गर्दै उनको फिर्ती माग गरेकी छन् ।

भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउने आदेश दिएको छ । सर्वोच्च अदालतले डेल्सी रोड्रिगेजलाई तुरुन्तै राष्ट्रपतिको सबै अधिकारसहित अन्तरिम रूपमा कार्यभार सम्हाल्न भनेको हो ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा अमेरिकाको कुनै कब्जा नभएको स्पष्ट पारेका छन् । उनले वर्तमान अवस्थामा अमेरिकाको कारबाहीलाई कुनै प्रकारको कब्जा मान्न नहुने बताए । रुबियोलाई भेनेजुएलामा अमेरिकाको कब्जा छ वा छैन भनेर सोधिँदा उनले ट्रम्पसँग हरेक अवस्थाको सामना गर्ने विकल्प खुला भए पनि अहिले जमिनमा अमेरिकी कब्जाको कुनै स्थिति नभएको दाबी गरे ।

यसअघि जनवरी ३ मा ट्रम्पले सामाजिक सञ्जालमा गरेको एक पोस्टमा भेनेजुएलामा अमेरिकी कब्जाको कुरा गरेका थिए ।