अशान्त बंगलादेश, हसिनाविरोधी अर्का नेतामाथि गोली प्रहार

Yangle News
Yangle News
२०८२ पुस ७ गते
अशान्त बंगलादेश, हसिनाविरोधी अर्का नेतामाथि गोली प्रहार

बंगलादेशमा हिंसा थप चर्किएको छ, शान्तिसुरक्षाको व्यवस्था नाजुक बन्दै गइरहेको छ । १० दिनअघि शरीफ उस्मान हादीको हत्यापछि अज्ञात आक्रमणकारीले नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी)का नेता मोहम्मद मोतलेब सिकदरमाथि गोली प्रहार गरेका छन् । सिकदरलाई सोनाडांगा क्षेत्रमा आज दिउँसो गोली हानिएको हो । उनलाई गम्भीर अवस्थामा खुलना मेडिकल कलेज अस्पताल पुर्‍याइएको छ ।

सिकदरमाथि खुलनामा एक र्‍याली आयोजनाका बेला आक्रमण गरिएको बताइएको छ । उनी एनसीपीको खुलना डिभिजनका प्रमुख हुन् । उनको टाउकोको बायाँ भागमा गोली लागेको छ । सिकदरमाथि ‘गलत तत्त्व’ले गोली हानेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरूलाई पक्रन प्रहरीले विभिन्न क्षेत्रमा व्यापक अपरेशन सुरु गरेको छ ।

हसिनाको कट्टर विरोधी उस्मान हादीमाथि १२ डिसेम्बरमा ढाकोको विजयनगर क्षेत्रमा गोली प्रहार भएको थियो । चुनावी अभियानका क्रममा इन्कलाब मञ्चका प्रवक्तासमेत रहेका ३२ वर्षीय हादीमाथि नकाब लगाएका बन्दुकधारीहरूले टाउकोमा गोली हानेका थिए । गम्भीर घाइते हादीलाई उपचारका लागि सिंगापुर लगियो । उनको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो । यो घटनापछि पूरै बंगलादेशमा नयाँ चरणको हिंसा जारी छ । तर, घटना भएको १० दिन बित्दा पनि हादी हत्याका दोषीहरूबारे बंगलादेश प्रहरीले कुनै संकेत भेट्टाउन नसकेको जनाएको छ ।

एनसीपी पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्धको आन्दोलनपछि गठित पार्टी हो । उक्त पार्टीमा हसिनाविरुद्ध आन्दोलन गर्नेहरू समावेश छन् । ठूलो संख्यामा ढाका विश्वविद्यालयका विद्यार्थी यो पार्टीसँग जोडिएका छन् । बंगलादेशमा यो पार्टी पहिलोपटक चुनाव लड्ने तयारीमा छ ।

यसैबीच, बंगलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री हसिनाले कडा प्रतिक्रिया दिएकी छन् । उनले अवामी लिगबिनाको चुनावलाई वास्तविक निर्वाचन नभई ‘राज्याभिषेक’ को संज्ञा दिएकी छन् ।