नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा २० टोली

Yangle News
Yangle News
२०८२ पुस ७ गते
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा २० टोली

यही पुस ११ गतेदेखि शुरु हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ मा कुल २० टोलीको सहभागिता रहने भएको छ ।

आयोजक नेपाल भलिबल संघ (एनभीए)का अध्यक्ष जितेन्द्र बहादुर चन्दका अनुसार यस पटकको च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरेर कुल २० टोलीको सहभागिता रहने भएको हो । जसमा, पुरुषतर्फ सहभागी टोलीमा तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपीएफ) सहित रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्ड भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानिलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौं), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौं) रहेका छन् ।

यस्तै, महिलातर्फ नेपाल पुलिस क्लब, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् रहेका छन् ।

प्रतियोगिता पुस ११ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सञ्चालन हुनेछ । जसमा सहभागी विभागीयबाहेक अन्य क्लबले तीन जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान रहेको छ ।

गत वर्ष विविध कारणले आयोजना हुन नसकेको प्रतियोगिता यस वर्ष पुनः आयोजना गर्न लागिएको हो । प्रतियोगिताबाट उत्कृष्ट ८ पुरुष र ६ महिला टोली छनोट गरिनेछ । जुन टोलीले दशौं पिएम कप-एनभिए महिला तथा पुरुष भलिबल लिगमा सहभागिता जनाउने अवसर पाउने छन् ।

संघले प्रतियोगितामा सहभागिताका लागि प्रदेश, जिल्ला र क्लबहरूलाई पत्राचार गरि टोली दर्ताको अन्तिम मिति २०८२ पुस ५ गतेसम्मका लागि तोकेको थियो । दर्तापछि च्याम्पियनसिपमा २० टोलीको सहभागिता रहने टुंगो लागेको हो ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको विजेता टोलीले ट्रफीसहित समान नगद ५ लाख रुपैयाँ, द्वितीय हुने टोलीले २ लाख ५० हजार रुपैयाँ र तृतीय हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

८० लाख अनुमानि बजेट रहेको प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने संघले जनाएको छ ।