नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न सम्बन्धित कानुनहरु संशोधनगरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय भएको छ । सवारी साधन दर्तासम्बन्धी समस्या रहेको विषयमा समाचार आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल समस्या हल गर्न निर्देशन दिएलगतै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरुसँग छलफल गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा आज बसेको बैठकले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारी साधन दर्ता गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन दिनभित्र आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।
यसैगरी नेपालमा उत्पादित सवारी साधन दर्ता गर्न सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा आवश्यक सुधार गर्न संशोधनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषदमा पेश गर्ने व्यवस्था मिलाउने समेत बैठकमा निर्णय भएको छ ।
साथै प्रधानमन्त्री दाहालले नेपालमा उत्पादित बस्तु तथा सेवालाई सहजरुपमा उत्पादनको नीतिगत व्यवस्थाका साथै प्रोत्साहनमुखी वातावरण तयार गर्न निर्देशन दिएका छन् । आजको छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एवं पदाधिकारीका अतिरिक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन मन्त्रालय, यातायात विभाग, यात्रीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।