दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बंगालले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा इस्ट बंगालले नेपालको एपिएफ क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बंगालको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।
कप्तान इक्वापुटले खेलको २२औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाइन् । नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले पाएको अवसरलाई सदुपयोग गर्दै कप्तान फजिलाले गोल गर्न सफल भएकी हुन् ।
त्यसपछि खेलको ३५औं मिनेटमा इस्ट बंगालले आफ्नो टोलीको अग्रता दोब्बर बनायो । उसका लागि शिल्कीदेवी हनामले गोल गरिन् । सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेडमार्फत गोल गरेकी हुन् ।
त्यसपछि खेलको दोस्रो हाफको सुरुआती मिनेटमा इस्ट बंगालले तेस्रो गोल गरेसँगै प्रतियोगितामा विजयी भएको हो । इस्ट बंगालकी कप्तान फजिलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । त्यसपछि खेलमा गोल हुनसकेन र अन्तत इस्ट बंगालले एपिएफमाथि ३-० को सहज जित निकाल्दै प्रतियोगिताको उपाधि जित्यो ।
च्याम्पियन इस्ट बंगालले ट्रफीसहित १० हजार अमेरिकी डलर प्राप्त गर्यो । त्यस्तै उपविजेता एपीएफले ५ हजार अमेरिकी डलरमा चित्त बुझायो । विधागत पुरस्कारमा इस्ट बंगालले क्लिन स्विप गर्यो । पाँच खेलमा कूल ९ गोल गरेकी फाजिला प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पनि जितिन् । उनले ट्रफीसँगै एक हजार अमेरिकी डलर प्राप्त गरिन् । त्यस्तै इलाङबम पान्थोइ चानु सर्वोत्कृष्ट गोलकिपर चुनिँदा ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले फेयर प्ले टिमको पुरस्कार जित्यो ।
गत मंसिर १९ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा पाँच राष्ट्रको सहभागिता थियो । फाइन खेल्ने दुई टोलीसहित पाकिस्तानको कराँची सिटी एफसी, बंगलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड रहेका थिए ।
