सहकारी ठगी मुद्दामा अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । तुलसीपुर उच्च अदालतको १ नम्बर बुटवल इजलासमा मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले उक्त आदेश दिएको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इलजासका सूचना अधिकारी रामबहादुर कुँवरले अदालतले रविलाई २ करोड ७४ लाख ८४ हजार रुपैया धरौटीमा थुनामुक्त गर्न आदेश दिएको बताए । आदेशमा लामिछानेले निवेदनसाथ पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत (ग्यारेन्टी)लाई अदालतलाई बिगोका हकमा सुरक्षित राख्न भनिएको छ ।
लामिछाने बिगो बराबरको रकम बुझाएर थुना बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागमा भएको जिल्ला अदालतको आदेशविरुद्ध परेको मुद्दाको सुनुवाइ भएको हो । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा उनीहरू थुनामा छन् ।
अदालतको आदेशसँगै रास्वपाका कार्यकर्ता तथा समर्थकहरू अहिले नक्खु कारागार अगाडि जम्मा भएका छन् । उनीहरूले रविका पक्षमा चर्का नाराबाजी गर्दै न्याय पाएको बताएका छन् ।