महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगितामा सहभागिता जनाउने नेपालको महिला तथा पुरुष दुवै टोली घोषणा भएको छ ।
खेलाडी छनोट समितिको निर्णयअनुसार ४ वैकल्पिक खेलाडीसहित २६ सदस्यीय टोली सोमबार घोषणा गरेको अखिल नेपाल कबड्डी संघले जनाएको छ । प्रतियोगिता मलेसियाको राजधानी क्वालालम्पुरमा फागुन १५ देखि १७ हुनेछ ।
महिला टोलीमा मानमती विष्टसहित जयन्ती बडु, अनुजा कुलुङ राई, मेनुकाकुमारी राजवंशी, नानुमाया पराजुली, मिना नेपाली, राधिका कठायत, आश्मा यादव, निशा खत्री, कलावती पन्त, विनीता पण्डित छेत्री र पुष्पा चौधरी छन् । सृजना धानुक र कलावती विष्टलाई वैकल्पिक खेलाडीमा राखिएको छ ।
पुरुषतर्फ घनश्याम रोकामगरसहित गणेश पार्की, कल्याण भुजेल, पदमबहादुर विष्ट, सुशील चुनारा, गोविन्द खड्का, सुरज बोहरा, सागर यादव, संस्कार कुमार, प्रवीण खड्का, नीरज चन्द र सुशीलराम लोहार छन् । घनश्याम यादव र शम्सेर मियालाई भने वैकल्पिक खेलाडीमा राखिएको छ ।
प्रतियोगिताअघि निश्चित अवधिका लागि प्रशिक्षण गराइने संघले जनाएको छ । संघले गत शनिबार सञ्चालन गरेको छनोट प्रतियोगिताबाट खेलाडी टोली घोषणा गरेको हो ।