प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बर्खास्त गर्न माग

Yangle News
Yangle News
२०८२ मंसिर ८ गते
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बर्खास्त गर्न माग

जेनजीहरूको संस्था नेपाल जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले आफ्नै श्रीमती सहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको खबरमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जेनजी फ्रन्टले उनले नियुक्ति दिलाएका परिवारका सदस्य र नातेदार सबैको नियुक्ति तत्काल खारेज गर्न पनि माग गरेको छ ।

राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो संवेदनशील निकायमा नातावाद, कृपावाद र पारिवारिक सम्बन्धका आधारमा नियुक्ति हुनु पदको दुरुपयोग भएको नेपाल जेनजी फ्रन्टको ठहर छ । यो सुशासन, नैतिकता, जवाफदेहिता र पारदर्शीताविरुद्धको प्रत्यक्ष प्रहार भएको जेनजी फ्रन्टले जनाएको छ ।

सुशासन र जवाफदेहिताको नाराका बलमा बनेको सरकारमा पुनः नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो ? प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी दिनुपर्ने जेनजी फ्रन्टको माग छ ।

यसैगरी, जेनजी नेतृ रक्षा बमले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न र उनले परिवारका सदस्य तथा नातेदारहरूलाई दिलाएको नियुक्ति खारेज गर्न माग गरेकी छन् । ‘यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाइदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ,’ रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जेनजी विद्रोह रकमको भ्रष्टाचारविरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावादविरूद्ध पनि थियो ।’

यसअघि श्रेष्ठले परिवारका सदस्य र नातेदारहरूलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएको थियो ।

विज्ञप्ति :

Yangle News