प्रतिनिधिसभाका निर्वाचनका लागि ५६ वटा दल दर्ता

Yangle News
Yangle News
२०८२ मंसिर ७ गते
प्रतिनिधिसभाका निर्वाचनका लागि ५६ वटा दल दर्ता

राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन् ।

निवेदन दिनका लागि तोकिएको अन्तिम दिन आइतबार साँझसम्ममा १३ वटा निवेदन आएको आयोगको राजनीतिक महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी नेपाल लगायतले दर्ताको निवेदन दिएका हुन् । माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ ।

त्यसैगरी, प्रतिनिधिसभाका लागि ५६ वटा निवेदन आयोगमा दर्ता भएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि आयोगको स्वीकृत कार्यक्रमअनुसार प्रतिनिधिसभाका लागि यही मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताका लागि समय दिइएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि आज मात्र १६ दलले निवेदन दिएका छन् । नेपाली कांग्रेससहितका १६ दलले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएका हुन् । समयवाधि तीन दिन बाँकी हुँदासम्म नेकपा एमालेले भने दल दर्ता गरेको छैन ।

आयोगमा आज थप तीन नयाँ दल दर्ता भएका छन् । सत्यवान कुमार सिंहको स्वाभिमान पार्टी, खगेन्द्र सुनुवार नेतृत्वको हाम्रो पार्टी नेपाल, रत्नप्रसाद श्रेष्ठ नेतृत्वको नागरिक सर्वोच्चता पार्टी नेपाल दर्ता भएको आयोग जनाएको छ । योसँगै जेनजी आन्दोलनपछि १३ दल दर्ता भएका छन् ।