अमेरिकामा सरकारी बन्द (शटडाउन) जारी रहँदा शनिबार १,४०० भन्दा बढी उडानहरू रद्द भएका छन् भने करिब ६,००० उडान ढिला भएका छन् । यसअघि शुक्रबार ७,००० भन्दा बढी उडानमा ढिलाइ भएको थियो ।
संघीय विमान प्रशासन (एफएए)ले यस हप्ता एयरलाइन्सहरूलाई ४० वटा प्रमुख विमानस्थलमा हवाई यातायात १० प्रतिशतसम्म घटाउन निर्देशन दिएको थियो । हवाई यातायात नियन्त्रकहरू (एयर ट्राफिक कन्ट्रोलर)लाई तलबबिना लामो समय काम गर्नुपर्दा उनीहरूमा थकान र जनशक्ति अभाव देखिएका कारण यस्तो भएको हो ।
शार्लोट/डगलस अन्तर्राष्ट्रिय विमानस्थल, न्युर्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थल, शिकागो ओ’हेयर अन्तर्राष्ट्रिय विमानस्थल, जोन एफ. केनेडी अन्तर्राष्ट्रिय, एटलान्टा हर्ट्सफिल्ड-ज्याक्सन र ला गार्डिया विमानस्थल सबैभन्दा बढी प्रभावित भएका छन् ।
सरकारी बन्द १ अक्टोबरदेखि सुरु भएको हो र अहिलेसम्म ३९ दिन पुगिसकेको छ । यो अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी बन्द हो । रिपब्लिकन र डेमोक्र्याट सांसदबीच बजेटमा सहमति नहुँदा संघीय सरकार ठप्प छ ।
यस बन्दका कारण १४ लाख संघीय कर्मचारीहरू प्रभावित भएका छन्, जसमा टीएसएका ६४ हजार सुरक्षा कर्मचारी पनि तलबबिना काम गर्न बाध्य छन् । विगतको बन्द (सन् २०१८)मा १० प्रतिशत टीएसए कर्मचारीहरूले तलबबिना काम गर्न अस्वीकार गरेका थिए ।