खराब कर्जा ५ प्रतिशत नाघ्ने बैंकको संख्या ९ पुग्यो

Yangle News
Yangle News
२०८२ कार्तिक २१ गते
खराब कर्जा ५ प्रतिशत नाघ्ने बैंकको संख्या ९ पुग्यो

जेनजी आन्दोलनपछि वाणिज्य बैकहरुको खराब कर्जा बढेको छ । तंग्रिन खोजेको अर्थतन्त्रमा जेनजी आन्दोलनले कर्जा असुलीमा समस्या आउँदा खराब कर्जा थप बढेको हो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो आवको प्रथम त्रैमासको तुलनामा २० प्रतिशतभन्दा बढीले खराब कर्जा बढेको छ । गत आवको पहिलो त्रैमासमा औसतमा ४.०४ प्रतिशत रहेको खराब कर्जा चालु आवको पहिलो त्रैमाससम्म पुग्दा ४.८६ प्रतिशत पुगेको छ । गत आवको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र लक्ष्मी सनराइज बैंकको मात्रै खराब कर्जा ५ प्रतिशत नाघेको चालु आवको प्रथम त्रैमासमा खराब कर्जा ५ प्रतिशत नाघ्ने बैंकको संख्या ९ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले ५ प्रतिशतभन्दा कम खराब कर्जा भएको बैंकलाई तुलनात्मक रुपमा सुरक्षित मान्ने गरेको छ । राष्ट्र बैंककै मापदण्डअनुसार धेरै वाणिज्य बैंकहरु आफ्नो खराब कर्जालाई ५ प्रतिशतभन्दा मुनि नै राख्ने कोसिसमा लागेका हुन्छन् । बैंकको प्रयासका बाबजुद पनि प्रतिकुल अवस्थाले गर्दा अहिले ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको बैंकको संख्या बढ्न पुगेको हो ।

वाणिज्य बैंकहरुको चालु आवको प्रथम त्रैमासिक तथ्यांकअनुसार हिमालयन बैंकको खराब कर्जा सबैभन्दा धेरै ७.३९ प्रतिशत रहेको छ । सिभिल बैंकलाई आफूमा गाभेपछि हिमालयन बैंकले राम्रो ब्यालेन्स सिट प्रकाशित गर्न सकेको छैन । त्यसैगरी एनआईसी एसिया बैंकको खराब कर्जा ६.९९ प्रतिशत र कुमारी बैंकको खराब कर्जा ६.९८ प्रतिशत रहेको छ । विगतमा ऋण विस्तारमा एकदमै आक्रामक रहेको एनआईसी एसिया पछिल्लो समय खराब कर्जा बढ्दै जाँदा खराब कर्जाबापत् प्रोभिजन बढ्दा ऋण विस्तारमा समेत समस्या उत्पन्न भएको थियो ।

गत वर्ष लगानीकर्तालाई कुनै पनि लाभांश नदिएको बैंकहरुले गत वर्षको नाफाबाट यस वर्ष पनि केही लाभांश दिने छैनन् । कुमारी बैंक पनि विगत २ वर्षदेखि लगानीकर्तालाई शुन्य लाभांश दिने बैंकमा रहेको छ ।

त्यस्तै सरकारी लगानीको नेपाल बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तथा लक्ष्मी सनराइज बैंकको समेत खराब कर्जा ५ प्रतिशतमाथि छ ।

तथ्यांकअनुसार बैंकहरुको निक्षेप संकलन ६.१६ प्रतिशतले बढ्दा ऋण विस्तार १४ दशमलब १९ प्रतिशतले भएको छ । चालु आवको पहिलो त्रैमासमा एनआईसी एसिया र स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप संकलन गत आवको सोही अवधिको तुलनामा घटेको छ भने ऋण विस्तारमा भने हिमालयन बैंक ऋणात्मक देखिएको छ ।

तथ्यांकअनुसार वाणिज्य बैंकको खुद ब्याज आम्दानी ५ दशमलब ६४ प्रतिशतले बढेको देखिएको छ । औसतमा बैंकको खुद ब्याज आम्दानी बढेको देखिए पनि एनआईसी एसिया बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको छ ।