मेची राजमार्ग अवरुद्ध, इलाम-झापा सडक सम्पर्क विच्छेद

Yangle News
Yangle News
२०८२ कार्तिक १४ गते
मेची राजमार्ग अवरुद्ध, इलाम-झापा सडक सम्पर्क विच्छेद
फाइल तस्बिर ।

बिहीबारदेखिको निरन्तर वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

विभिन्न स्थानमा सडक भासिएकाले उक्त खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको उनले जानकारी दिइन् ।

मेची राजमार्गको वैकल्पिक सडकका रुपमा सञ्चालन भएको तिल्केनी-सिमलगोलाई-शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ । मेची कोरिडोर (केचना-कञ्चनजङ्घा सडक)को बेलासेस्थित माइखोलाको पक्की पुल भाँचिएपछि गत असोज १८ गतेदेखि नै सो सडक बन्द छ । इलाम सदरमुकामबाट झापा जोड्न सबै सडक अवरुद्ध भएपछि इलाम र झापाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।

सुनसरीको धरानबाट धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोर पनि बाढीका कारण अवरुद्ध भएको छ । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा पानीको बहाव अत्यधिक बढेका कारण यस खण्डमा सवारी साधन चल्न सकेका छैनन् । यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न वा मौसममा सुधार नआएसम्म यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ ।