नेपाल र साउदी अरबबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । नेपाली श्रमिकहरूको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित साउदी अरबको रियादमा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका हुन् । करिब एक दशक लामो प्रयासपछि यो श्रम सम्झौता सम्पन्न भएको हो ।
नेपालले २०७० सालदेखि साउदी अरबसँग औपचारिक श्रम सम्झौता गर्ने पहल गर्दै आए तापनि विभिन्न कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन । गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएपछि अन्ततः सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा हस्ताक्षर हुनुअघि दुवै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठकसमेत भएको थियो । बैठकमा मन्त्री भण्डारीले यो सम्झौताले नेपाली श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत प्रभावकारी बनाउने बताए । सम्झौतामा श्रमिकको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौताको कार्यान्वयन, गुनासो व्यवस्थापन र श्रमिक अधिकार संरक्षणजस्ता विषयलाई प्राथमिकताका साथ समेटिएको छ ।
हाल साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले न्यूनतम तलब नपाउने, करारपत्र परिवर्तन हुने, घर फर्किन नदिने र उपचारमा लापरवाही हुनेजस्ता समस्या भोग्दै आएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ लाख ५२ हजार, आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ४१ हजार ५०१ जना, आर्थिक वर्ष २०७९/०८० मा १ लाख ११ हजार ८४३ जना नेपाली श्रमका लागि साउदी अरब गएका थिए ।