मंगलबारदेखि ठाउँ-ठाउँमा वर्षा र हिमपातको सम्भावना

Yangle News
Yangle News
२०८२ कार्तिक १० गते
मंगलबारदेखि ठाउँ-ठाउँमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ ।

यस प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज ‘पोष्ट मनसुन विशेष मौसम बुलेटिन’ जारी गरी उक्त जानकारी दिएको छ ।

महाशाखाकाअनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।

साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ । तसर्थ, सम्भावित हिमपात/वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ । विभागका अनुसार गोरखा, मनाङ मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की, पर्वत र आसपासका जिल्लामा बढी सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तै दोलखा सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालिकोट, दैलेख, जाजरकोट, सल्यान दुवै रुकुम, बाग्लुङ, सुर्खेत, बाँके र बर्दियामा पनि ख्याल गर्न अनुरोध गरिएको छ ।