नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘सफा हिमाल अभियान’ले दुई महिनामा ३४ हजार १ सय ६६ किलो फोहोर संकलन गरेको छ । सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्सेबाट मार्च २८ मा फोहोर सङ्कलन गर्न सुरु गरेको सेनासँग कोका–कोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरेको छ । पहिलो संस्करणदेखि नै प्रमुख दाताका रूपमा कोका–कोला फाउन्डेसन आबद्ध रहेको सफा हिमाल अभियान हाल चौथो शृङ्खलामा छ ।
नेपाली सेनासँगै अन्यसमेत गरि ९७ जनाको अभियान टिमले कठिन मौसमी अवस्थाबीच यी चारवटा सो परिमाणको फोहोर सङ्कलन गरेको हो । टोलीले हिमाल आरोहरणका क्रममा फालिएका खाली अक्सिजन क्यानिस्टर, टेन्टहरू, खाना राखिने कन्टेनर, प्लास्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेट लगायतका फोहोर सङ्कलन गरेको हो ।
सफा हिमाल अभियानका निर्देशक ब्रिगेडियर जनरल सुन्दर कुमार पाण्डेले विभिन्न हिमालहरूको स्वच्छता जोगाउनका लागि यो एउटा सबल कदम चालिएको बताए । यस्तै यो नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरू संलग्न भई हिमाली क्षेत्रको वातावरण संरक्षण र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले गरिएको पहल हो ।
जारी सफा हिमाल अभियानका बारेमा बोल्दै, सफा हिमाल अभियानका प्रमुख साझेदारहरूमध्ये एक क्रिएसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले हिमाली भेगको फोहोरले विशाल चुचुराहरूको महिमा र महत्त्वलाई ह्रास गर्दै नेपालमा एउटा महत्त्वपूर्ण चुनौती खडा गरेको बताए । दिगो फोहोर व्यवस्थापन प्रवर्द्धन गर्ने प्रयासको रूपमा फोहोर सङ्कलन गरेपछि टिमले प्रशोधनका लागि अभियानको रिसाइक्लिङ्ग पार्टनरलाई हालसम्म अन्नपूर्ण हिमाल र बरूणत्से हिमालबाट सङ्कलन गरिएको फोहोर हस्तान्तरण गरिसकेको छ ।
जनचेतना बढाउन र सार्वजनिक संलग्नतालाई प्रोत्साहित गर्न सफा हिमाल अभियानले हिमाल सरसफाइमा आफ्नो निरन्तर प्रयासहरुलाई काठमाडौँ, ललितपुर, पोखरा र भरतपुर लगायतका सहरहरूमा डिजिटल स्क्रिन मार्फत दर्साउँदै आएको छ । ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्यमा पुगेपछि अभियानको सफलताको खुसीयालीमा काठमाडौँमा अन्तिम उत्सव मनाउनका लागि कार्यक्रम आयोजना गरिने भएको छ ।
जुन ५ तारिखमा अर्थात् विश्व वातावरण दिवसको अवसरमा भावी पुस्ताका लागि वातावरण संरक्षणमा सामूहिक पहलको महत्त्वलाई जोड दिँदै अभियान समापन गर्ने योजना छ ।