कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व । सोमबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ । मिथिलाञ्चल मूलथलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउन लागेका हुन् । यसलाई मैथिल भाषाामा ‘सझुका अरख’ भनिन्छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठपर्व मनाउने परम्पराको थालनी भएको बताइन्छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ । मुख्य दिन शुक्ल षष्ठी भए पनि छठ चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । यसलाई ‘नहाय खाए’ भनिन्छ । दोस्रो दिन पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसादस्वरूप खाने परम्परा छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि विधान छ । षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ्य दिएमा चर्म (छाला) रोग लाग्दैन भन्ने विश्वास छ ।
विशेषगरी मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई मधेशभर मात्र नभई काठमाडौं उपत्यकामा समेत धुमधामसहित मनाइन्छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरी, बागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।
छठका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।