जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते विशेष गरी काठमाडौं र देशैभर संगठित र योजनावद्ध रुपमा आगजनीका घटनाहरु भएको अमेरिकी अखबार न्यूयोर्क टाइम्सले बताएको छ । विभिन्न पक्षसँग कुराकानी तथा खोज-अनुसन्धानपछि उक्त अखबारले यस्तो दाबी गर्दै समाचार प्रकाशन गरेको छ ।
न्यूयोर्क टाइम्सले २४ भदौको आगजनी योजनाबद्ध भएको र त्यसका लागि कम्तीमा पनि महिनौंको तयारी भएको उल्लेख गरेको छ । विश्वस्तरीय विज्ञहरूसँग कुरा गर्दै पत्रिकाले यो हमला स्वाभाविक नभएको निष्कर्ष निकालेको छ ।
समाचारअनुसार दिउँसो १:४५ बजे प्रदर्शनकारी संसद् भवनमा प्रवेश गरेका थिए । तर, ३० मिनेटमै तीव्र आगो लाग्यो । २:५० बजे सर्वोच्च अदालत जलाइयो र ३:०६ बजे सिंहदरबार तोडियो । तोडफोड भएको करिब २० मिनेटमै आगो दनदनी बल्न थालेको उल्लेख गर्दै न्यूयोर्क टाइम्सले यस्तो गति र समन्वय एकछिनमै सम्भव नहुने निष्कर्ष दिएको छ ।
२४ भदौका घटनामा प्रहरी बलले तत्काल हस्तक्षेप गरेको भए क्षति रोक्न सकिन्थ्यो तर ‘माथिल्लो तहबाट आदेश नआएकाले’ प्रहरी निष्क्रिय रहन बाध्य भएको न्यूयोर्क टाइम्सको खोजमा उल्लेख छ । पत्रिकाले प्रहरी अधिकारीहरूसँग कुरा गरेर यो तथ्य पुष्टि गरेको बताएको छ ।
सरकारी भवनका माथिल्ला तहका झ्यालहरू सामान्यतया बन्द रहने भए पनि ती सबै खुला भेटिनु रहस्यमय भएको न्यूयोर्क टाइम्सले लेखेको छ । पत्रिकाले यो विषयमा कर्मचारी र सुरक्षा अधिकारीहरूसँग पनि प्रश्न गरेको छ । सिङ्गापुरका आगलागीविज्ञ केनेथ किले प्रश्न गरेका छन्- सुरक्षा निकायकै खेल त होइन ?
नेपालका सरकारी भवनहरूमा लागेको आगोको तीव्रता र स्वरूप हेर्दा वैज्ञानिक परीक्षण (फोरेन्सिक इनभेस्टिगेसन) अनिवार्य हुने भए पनि सरकारले त्यसमा कुनै चासो नदेखाएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । रिपोर्टमा भनिएको छ, ‘जति ढिलो परीक्षण हुन्छ, परिणाम नआउने सम्भावना त्यति नै बढ्छ ।’
नेपाल प्रहरीको फरेन्सिक ल्याबका शाखा अधिकृत पवन ढुंगानाले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा आगलागीमा रासायनिक पदार्थ प्रयोग भएको स्वीकार गरेका छन् । उनले कुनै रसायनको स्पष्ट पहिचान नभएको बताउँदै पनि सोडियम र म्याग्नेसियमजस्ता रासायनिक तत्त्व प्रयोग भएको अनुमान गरेका छन् ।
प्रत्यक्षदर्शी र हिंसामा संलग्न व्यक्तिहरूको अनुसार आगजनी गर्नेहरूसँग इन्धनको भाँडो र सलेदो सहितको बोतल पनि रहेको रिपोर्टमा दाबी गरिएको छ ।