नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो ।
पूर्वराष्ट्रपतिको सुविधा त्याग गरेर सक्रिय राजनीतिमा होमिएकी भण्डारीको सदस्यतासम्बन्धी पार्टीमा विवाद देखिएको छ । भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन् । आज पार्टी मुख्यालयमा अध्यक्ष ओलीसँग भएको भेटपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी हुन् । ‘त्यो त पुरानै कुरा भयो, त्यो पहिले नै भइसकेको छ,’ उनले भनिन् । शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको बताएका थिए ।
यसैबीच प्रचार विभाग प्रमुख गौतमले ‘वान टु वान’ वार्ताका क्रममा दुई नेताहरूबीच एकले अर्कोलाई विभाजित गरेर नभइ सहमति र समझदारी बनाएर अघि बढ्ने निष्कर्ष निस्केको बताएका छन् । छलफलबारे जानकारी दिँदै उनले छलफल सकारात्मक ढंगले अघि बढेको र राजनीतिले नै सम्बन्धलाई अघि बढाउने उल्लेख गरे । दुई नेताहरूले आज आफूलाई लागेका कुराहरू खुलेर राखेको र अब कुनै पनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि बढ्नसक्ने स्थिति नरहेकोमा सहमति जुटेको उनको भनाइ छ ।