बेलायतमा यही असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको ‘एक्ससाइज क्याम्ब्रेन पट्रोल २०२५’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ ।
दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दुरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर संकलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।
यसअघि नेपाली सेनाले उक्त प्रतियोगितामा सन् २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो ।