स्थानीय प्रशासनले काठमाडौं, ललितपुर र भक्तपुरका धेरै क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
काठमाडौंमा सोमबार भएको गोलीकाण्डपछि पनि युवाहरुले सडक नछाडेपछि जिल्ला प्रशासन कार्यालयले तीनवटै जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । यसले काठमाडौं उपत्यकाकै जनजीवन अस्तव्यस्त भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अर्को आदेश नभएसम्मका लागि चार किल्ला तोकी सो सीमाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी आदेश जारी गरेको उल्लेख गरेका छन् । काठमाडौंमा बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगवु, बालाजु, कलंकीलगायत रिंगरोडभित्र कर्फ्यु आदेश जारी गरेको छ ।
त्यसैगरी ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पनि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेका छन् । भैंसेपाटीदेखि, एकान्तकुना, सानेपा, बल्खु, मनोहरा खोलालगायतका स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । यता जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । अर्को आदेश नभएसम्मका लागि यस्तो आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ ।
भक्तपुर जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।