सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य विश्वबजारमै निरन्तर बढ्ने क्रम जारी छ । यसको प्रभाव नेपाली बजारमा नपर्ने कुरै भएन । एक वर्षको अवधिमा प्रतिऔंस सुनको मूल्य करिब १ हजार डलर बढिसकेको छ । गत वर्षको सेप्टेम्बरमा प्रतिऔंस करिब २६ सय मात्रै रहेको सुनको मूल्य यस वर्ष सेप्टेम्बरको शुरुमै ३५ सय ५० पुगिसकेको थियो ।
अहिले सुनको खरिद विक्री विश्वव्यापी रुपमा बढेको छ । युक्रेन र गाजामा युद्ध तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले घेरिएको अशान्त अन्तर्राष्ट्रिय वातावरणको बीचमा विगत दुई वर्षमा यसको मूल्य रकेटको गतिमा उकालो लागिरहेको छ ।
विश्वभर नै सरकार, वित्तीय संस्थाहरू र शेयर बजारप्रति अविश्वास गर्ने लगानीकर्ताहरूले सुनलाई नै प्राथमिकता दिने गर्छन् । किनकि, यो भौतिक रूपमा स्वामित्व र भण्डारण गर्न सकिने वस्तु हो । सुन हजारौं वर्षदेखि मुद्राको रूपमा प्रयोग हुँदै आएको छ र यो अस्थिरताका समयमा सुरक्षित लगानी मानिन्छ । मुद्राको मूल्य मुद्रास्फीति वा अत्यधिक छपाइका कारण घट्न सक्छ तर सुन सीमित स्रोत भएकाले यसले आफ्नो मूल्य कायम राख्छ । बरु कुनै देशको मुद्रा केही सीमित मुलुकमा मात्र चल्न सक्छ । तर, सुन भने विश्वव्यापी रूपमा स्वीकार्य छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण गरेपछि सुनको मूल्य दुई हजार ७० प्रतिऔस पुगेको थियो । सन् २०२४ मा विश्वभर सुनको माग करिब ३८२ अर्ब अमेरिकी डलर बराबरको ४ हजार ९७४ मेट्रिक टन पुग्यो ।
विश्व सुन काउन्सिलको आँकडाअनुसार भारतसँग ८७६ टन सुन ढुकुटीमा छ भने चीनसँग २ हजार २७९ टन छ । सबैभन्दा धेरै अमेरिकासँग ८ हजार १३३ टन रहेको बताइन्छ ।