एमाले विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा

Yangle News
Yangle News
२०८२ भदौ १८ गते
एमाले विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा

नेकपा एमालेको विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा एमालेले पत्रकार सम्मेलन गर्दै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

यही शुक्रबार (भदौ २० देखि) गोदावरीस्थित सनराइज हलमा नेकपा एमालेको विधान महाधिवेशन सुरु हुँदैछ । विधान महाधिवेशनमा दुई हजार ३३ प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुनेछन् । एमालेले १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै आगामी विधान महाधिवेशनका प्रतिनिधि हुने भनेको छ ।

१०औं महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उनीहरूसमेत आयोजकका हैसियतमा मात्रै सहभागी हुनेछन् ।

अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यस्तै केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ-आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रस्तुत प्रतिवेदनहरू उपर महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबीच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ । विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत निर्वाचित गर्नेछ । अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्नेछ ।

राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने रोडम्याप (मार्गचित्र) प्रस्तुत गरेको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा २०-२२ भदौमा एमालेको विधान महाधिवेशन हुँदैछ ।