अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

Yangle News
Yangle News
२०८२ जेष्ठ २४ गते
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

अमेरिकामा एकै परिवारका चार नेपाली मृत अवस्थामा फेला परेका छन् । म्यानेसस पार्क प्रहरी विभागका अनुसार भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेको म्यानेसस पार्क प्रहरी विभागले जनाएको । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेको जानकारी दिएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन् । घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको छ । गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक भएको छैन । प्रहरीले यो घटनालाई हत्यापछिको आत्महत्या भनेको छ ।

प्रहरीले शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको जनाएको छ । करिब ६ महिनाअघि मात्र उनीहरु सो बस्तीमा बसिई सरेको स्थानीयहरुले बताएका छन् ।