च्याम्पियन्स लिगमा एपीएफको लगातार हार

Yangle News
Yangle News
२०८२ भदौ १२ गते
च्याम्पियन्स लिगमा एपीएफको लगातार हार

उज्वेकिस्तानमा जारी एएफसी महिला च्याम्पियन्स लिगमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले लतागार दोस्रो हार व्यहोरेको छ । थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले आज एपीएफलाई ४-० ले हरायो ।

स्कोलर्सको जितमा सबै गोल कानियानात क्षतबुक्तरले गरिन् । लगातारको दोस्रो हारमा एपीएफ समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपिएफकी रश्मिकुमारी घिसिङले पाएको दुई उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकिनन् ।

खेलको ३३औं मिनेटमा कलेज अफ एसियन स्कोलर्सले अग्रता बनायो । क्लोज रेन्जबाट कानियानातले गोल गरिन् । पहिलो हाफको इन्ज्युरी समयमा कानियानातले अग्रता दोब्बर गरिन् । ५५औं मिनेटमा कानियानातले ह्याट्रिक पूरा गरिन् । गीता रानाले क्लियर गर्न नसकेको बलमा किपर एन्जिलासँगको वान भर्सेज वानमा कानियानातले सहजै गोल गरिन् । खेलको ६३औं मिनेटमा तामोवान रक्षाफाप्दीको क्रसमा किपर एन्जिलाले रोके पनि रिबाउन्डमा कानियानातले गोल गरिन् ।

नेपालको लिग विजेता एपीएफले दोस्रो हाफमा पनि सुधारिएको प्रदर्शन गर्न सकेन । २ खेलमा एपीएफले ७ गोल खाँदा गोल गर्न सकेको छैन । यसअघि पहिलो खेलमा एपीएफ घरेलु टोली एफसी नासाफसँग ३-० ले हारेको थियो । एपीएफले यो छनोट दोस्रो पटक खेलेको हो । अहिलेसम्म गोल गर्न भने सकेको छैन ।

अब समूह चरणको‌‌ आफ्नो अन्तिम खेल एपिएफले आइतबार साउदी अरेबियाको अल नासारसँग खेल्नेछ । समूहको विजेता अर्कत्त चरणमा पुग्नेछ ।