बागमती प्रदेश सरकारले पायो पूर्णता, नवनियुक्त ५ मन्त्रीले लिए सपथ

Yangle News
Yangle News
२०८२ साउन ३० गते
बागमती प्रदेश सरकारले पायो पूर्णता, नवनियुक्त ५ मन्त्रीले लिए सपथ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् । आज प्रदेश प्रमुखको कार्यालयमा नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषदमा रिक्त रहेको पाँच मन्त्रालयमा मन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री बानियाँले आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङलाई मन्त्री नियुक्त गरेका छन् ।

त्यसै गरी सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेल र युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाललाई नियुक्त गरेका हुन् ।

२० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले सोही दिन एमालेका ६ र कांग्रेसका २ मन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । उक्त दिन कांग्रेसबाट खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरी धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री नियुक्त भएका थिए । कांग्रेसभित्र मन्त्रालय भागबण्डा हुँदा अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी, २० साउनमै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौंडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षका तीन सांसद गोविन्द लम्साल, माया श्रेष्ठ, गीता गुरूङलाई मन्त्री बनाउने पूर्वसहमति भएको थियो । सभापति शेरबहादुर देउवा, बानियाँ र लामाबीच त्यसबारे सहमति भएको थियो । यही सहमतिका आधारमा बहादुर पक्षले २७ साउनको प्रदेशसभा बैठकमा उपस्थित भई विश्वासको मत दिएका थिए ।

१४ मन्त्रालय रहेको बागमती प्रदेशमा कांग्रेसको भागमा मुख्यमन्त्री कार्यालयसहित ८ र एमालेको भागमा ६ मन्त्रालय रहेको छ ।