‘मिस्टर नेपाल २०२५’ को खोजी सुरु भएको छ । प्रतियोगिताका लागि इटहरी, जनकपुर, हेटौंडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज, काठमाडौंलगायत स्थानमा छनोट चरणको अडिसन सम्पन्न गरिसकेको आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।
प्रतियोगितामा १८ देखि ३२ वर्ष उमेर ननाघेका युवाहरू सहभागी हुन पाउनेछन् । त्यस्तै, ५ फिट ७ इन्चमाथि उचाइ भएका नेपाली नागरिकले विश्वको जुनसुकै स्थानबाट प्रतियोगितामा सहभागिता जनाउन सक्ने आयोजकको भनाइ छ । प्रतियोगिताको अन्तिम तयारी कक्षामा स्वमिङ, फुटबल, रक क्लाइम्बिङ, समाज सेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत दर्जनभन्दा बढी विधामा प्रशिक्षण दिइने बताइएको छ ।
आयोजक कम्पनी नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेका अनुसार प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुनेछन् । प्रतियोगितामा ‘मिस्टर वर्ल्ड नेपाल’, ‘मिस्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ ।
विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वसँगै नगद ५ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।