साफ यू-२० महिला च्याम्पियनसिप : बंगलादेशलाई जित्नैपर्ने दबाबमा नेपाल

Yangle News
Yangle News
२०८२ साउन ४ गते
साफ यू-२० महिला च्याम्पियनसिप : बंगलादेशलाई जित्नैपर्ने दबाबमा नेपाल

बंगलादेशमा जारी साफ अन्डर ट्वान्टी महिला च्याम्पियनसिप अन्तिम खेलमा नेपालले सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

उपाधि छिनोफानोका लागि यो खेल निर्णायक हुनुका साथै नेपालका लागि भने बदला लिने अवसर समेत हुनेछ । यसअघिको खेलमा बंगलादेशले नेपाललाई ३-२ ले पराजित गरेको थियो । सोमबारको खेलमा नेपालका लागि जित्नैपर्ने दबाब छ । जित आत्मसात गर्न सके मात्र बंगलादेशलाई पछि पार्दै नेपालले उपाधि हासिल गर्नेछ । बंगलादेशका लागि भने बराबरीको नतिजाले पनि उपाधि दिलाउने छ ।

पाँच खेलबाट पाँचै जितसहित बंगलादेशको १५ अंक छ । शनिबार सम्पन्न खेलमा श्रीलंकामाथि ५-० को एकतर्फी जित निकाल्दै साबिक विजेता बंगलादेश फेरि अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । एक खेल हारे पनि नेपालले गोलअन्तरमा भने बंगलादेशलाई उछिनेको छ । ५ खेलमा नेपालले कूल ३० गोल गर्दा बंगलादेशले २४ गोल गरेको छ । दुवै टिमले समान ४ गोल व्यहोरेका छन् ।

नेपालले भुटान र श्रीलंकालाई दुई-दुई खेलमा पराजित गर्दा बंगलादेशसँग भने पराजित भएको थियो । अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले ३ अंक बढी जोडेको छ । त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्ने हुन्छ । त्यसो भएमा नेपालले बंगलादेशलाई भेट्टाउने छ । यस्तोमा च्याम्पियन बन्न गोल अन्तर निर्णायक हुनेछ ।

नेपालले यसअघि भुटानलाई पहिलो खेलमा ६-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग पराजित भएयता नेपालले लगातार तीन खेल जित्दा कुनै गोल बेहोरेको छैन । श्रीलंकालाई दुवै खेलमा ७-० ल पराजित गरेको नेपालले पछिल्लो खेलमा भुटानलाई ८-० ले हराएको थियो ।

उता बंगलादेशले श्रीलंकालाई पहिलो खेलमा ९-१ ले हराउँदै सानदार सुरुवात गरेको थियो । बंगलादेशले तीनवटै विपक्षीबाट गोल खाएको छ । दोस्रो खेलमा नेपाललाई पराजित गरेको बंगलादेशले तेस्रो खेलमा भुटानलाई ४-१ ले हराउँदा गोल खाएको हो । त्यसपछि बंगलादेशले भुटानलाई ३-० र श्रीलंकालाई ५-० ले पराजित गरेको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बंगलादेशसँगको अघिल्लो खेलमा भएका गल्ती सुधार्दै रणनीति बनाएर आक्रमक फुटबल खेल्ने बताएका छन् ।