मालपोत कार्यालय भक्तपुरका प्रमुख साढे २४ लाख घुस रकमसहित पक्राउ

Yangle News
Yangle News
२०८२ असार ३१ गते
मालपोत कार्यालय भक्तपुरका प्रमुख साढे २४ लाख घुस रकमसहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार २४ लाख ५० हजार रुपैयाँ घुसहित पक्राउ गरेको हो । उनलाई भक्तपुरको व्यासीस्थित मालपोत कार्यालयबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

‘जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि घुस रिसवत रु. २४,५०,०००/- माग गरेको भन्ने सूचनाको आधारमा आयोगबाट खटिई गएको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय, भक्तपुरको भूमिसुधार शाखाको कार्यालय प्रमुख कुमार आचार्यको साथबाट मोबाइल डिभाइस तथा कार्यरत कार्यालय सहयोगी टीकाराम राउतको साथबाट मोबाइल र घुस /रिसवत बापतको रकम २४ लाख ५० हजारसहित नियन्त्रणमा लिएको,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले उनको साथबाट २ वटा मोबाइल पनि बरामद गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको लालपूर्जा बनाउने प्रयोजनका लागि उनले घुस माग गरेका थिए । ५४ वर्षीय आचार्य उदयपुरको बेलका नगरपालिका-४, हरिपुर घर भई हाल जिल्ला काठमाडौंको कागेश्वरी नगरपालिका वडा नं. ७, फोर्सपार्क टोलमा बस्दै आएका छन् ।

कार्यालय प्रमुख आचार्यसँगै कार्यालय सहयोगी ५१ वर्षीय टीकाराम राउतलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९, राउत टोल घर भएका उनी हाल लोकन्थली बस्ने गरेका छन् ।