इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह बनेको छ । गाजा क्षेत्रमा चार महिनादेखि जारी नाकाबन्दीका कारण संयुक्त राष्ट्रसंघले बाँकी रहेको इन्धन अत्यावश्यक जीवनरक्षक सेवाहरूमा मात्र प्रयोग गर्न थालेको छ ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)का अनुसार, इन्धन अभावले अस्पताल, एम्बुलेन्स र पिउने पानीको व्यवस्था गम्भीर रूपमा प्रभावित भएको छ । अस्पतालहरू सेवा सञ्चालनका लागि कठिनाइ भोगिरहेका छन् र यो अवस्था अब धेरै समय टिक्न सक्दैन कार्यालयले जानकारी दिएको छ ।
सञ्चार सेवा प्रदायकहरूले पनि गाजामा चाँडै नै सम्पूर्ण इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् । यसबीच, गाजाका सर्वसाधारणहरू दैनिक जीवनमा केवल द्वन्द्वबाट होइन, भोकमरीको डरले पनि त्रस्त छन् । खाद्य सहायता लिन खोज्दा केही नागरिकहरूले ज्यान नै गुमाउनु परेको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को हालैको सर्वेक्षणअनुसार गाजाका प्रत्येक तीनजनामध्ये एक जनाले धेरै दिनसम्म खाना नपाउने अवस्था रहेको छ । यसले हजारौंलाई भोकमरीको गम्भीर जोखिममा पारेको छ । संस्थाका उपप्रमुख कार्ल स्काउले गाजा आफूले देखेको पीडा अत्यन्तै मार्मिक रहेको र मानिसहरू केवल खाना खोज्न जाँदा पनि आफ्नो ज्यान गुमाइरहेको बताएका छन् ।
ओसीएचाले इजरायललाई सबै नाका खोल्न र गाजाभित्र मानवीय सहायता पुर्याउने कार्यलाई सहज बनाउन आग्रह गरेको छ । जनसंख्या कोषका अनुसार, खाद्यान्न संकटका बीच महिलाहरू मानसिक र सामाजिक तनावको उच्च भार बोकिरहेका छन् । अधिकांश महिलाहरू चिन्ता, डर र असहज सपनाबाट पीडित छन् । संयुक्त राष्ट्रसङ्घले अन्ततः सबै सम्बन्धित पक्षहरूलाई मानवीय कार्यमा अवरोध नगर्न, आपतकालीन सहायता सहज रूपमा गाजाको सबै क्षेत्रमा पुग्ने वातावरण सिर्जना गर्न र नागरिकहरूको जीवन र सम्मानको रक्षा गर्न आग्रह गरेको छ ।
गत मार्चमा युद्धविराम अन्त्य भएयता करिब सात लाख मानिस विस्थापित भएका छन् ।