साबिक विजेता हेल्प नेपालले नवौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुषतर्फ उपाधि जितेको छ । हेल्प नेपालको यो पाँचौं एनभीए लिग उपाधि हो ।
पोखरा रंगशालाको कभर्डहलमा हिजो भएको फाइनल खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३-२ ले हराउँदै लगातर तेस्रोपटक उपाधि जित्न सफल भयो । जीतसँगै हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनशिपमा समेत छनोट भएको छ । हेल्प नेपालले यसअघि तेस्रो र पाँचौं संस्करणमा पनि उपाधि जितेको थियो ।
यस्तै महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-१ ले हराउँदै नेपाल पुलिस क्लबले लगातार तेस्रोपटक उपाधि जितेको छ । पुलिस र न्यु डायमन्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनशिपमाका लागि छनोट भइसकेका छन् । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो भएको छ । महिलातर्फ एभरेस्ट भलिबल क्लब तेस्रो भएको छ ।
महिला र पुरुष दुवैतर्फको विजेता, उपविजेता र तेश्रो स्थान हासिल गर्ने टोलीले क्रमशः ८, ४ र २ लाख रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा पुलिस क्लबकी उषा भण्डारी र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबका मुबाशर रजा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले समान ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै लिगमा महिलातर्फको उपविजेता टिप टप न्यु डायमण्ड क्लबकी सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो, विजेता नेपाल पुलिस क्लबकी कमला पुन उत्कृष्ट सेटर, तेश्रो भएको एभरेष्ट भलिबल क्लबकी मिना सुनार उत्कृष्ट सर्भर, नेपाल पुलिस क्लबकी कामना विष्ट उत्कृष्ट स्पाइकर, न्यु डायमण्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र पुलिसका रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक बनेका छन् ।
पुरुषतर्फ हेल्प नेपालका सन्तोष राई उत्कृष्ट लिब्रो, हेल्प नेपालकै अकिब खान उत्कृष्ट सेटर, उपविजेता गण्डकी प्रदेशका वकबल खान उत्कृष्ट सर्भर, गण्डकीका इमान खान उत्कृष्ट स्पाइकर, तेश्रो भएको नेपाल पुलिस क्लबका सफल विक उत्कृष्ट ब्लकर र हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट प्रशिक्षक चुनिए । महिला तथा पुरुषको विधागततर्फ उत्कृष्ट बनेका सबैले समान २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
नेपाल भलिबल संघको आयोजनामा जेठ ८ गते शुरू भएको लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता थियो ।
