गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । सदनमा बोल्न प्रतिपक्षीहरुले अवरोध गरेपछि आज पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप झुठो रहेको र राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइएको बताए ।
उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताए । ‘भिजिट भिसामा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा आएका छन् । यो असत्य कुरा हुन्, यो बेठीक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन,’ उनले भने ।
गृहमन्त्री रमेश लेखकले आफूले पनि न्याय पाउनुपर्ने बताएका छन् । ‘सञ्चार माध्यम र सामाजिक सञ्जालमा कुरा उठ्नेबित्तिकै त्यसरी राजीनामा दिनुपर्ने स्थिति भयो भने के होला ? उठ्न सक्छ । तर त्यसमा गाम्भीर्यता हेरेर निर्णय लिनुपर्छ,’ उनले भने, ‘मैले पनि त न्याय पाउनुपर्यो नि । कि मैले न्याय नै नपाउने व्यक्ति हुँ ।’
गृहमन्त्री लेखकले यसपूर्व तीन जना मन्त्रीले यो मन्त्रालय सम्हालेका बेला ६ जना व्यक्तिमाथि अख्तियारले मुद्दा हालेको समेत बताए । उनले त्यो बेला पनि यसरी नै प्रश्न उठ्दा राजीनामा नआएको उल्लेख गरे । उनले भने, ‘सम्बन्धित मन्त्रालयसँग जोडेर प्रचारप्रसार गर्दै जाने हो भने शासन व्यवस्था ठीक ढंगले चल्न सम्भव छ ? पार्टी कार्यकर्ताको कुरा उठे सभापतिमाथि अनुसन्धान गर्ने ?’
गृहमन्त्री लेखकले राजनीतिक पूर्वाग्रह राखेर कर्मचारीलाई राजनीतिक व्यक्तिसँग जोड्दै जाने हो भने सम्भव नहुने बताए । पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएका र ती सबैमा कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेका पदाधिकारी जोडिएको भन्दै त्यस्ता कुनै मुद्दामा मन्त्रीले राजीनामा नदिएका लेखकले दाबी गरे ।
पूर्णपाठ: