तीनकुने घटना : ६१ जनाविरुद्ध मुद्दा दायर (अनुसन्धान प्रतिवेदनसहित)

Yangle News
Yangle News
२०८२ जेष्ठ ११ गते
तीनकुने घटना : ६१ जनाविरुद्ध मुद्दा दायर (अनुसन्धान प्रतिवेदनसहित)

तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेकाहरूमध्ये ६१ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ । आरोपीहरू ४ जना नाबालकको हकमा सोमबार अर्को मुद्दा दर्ता गरिने छ ।

जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार तीनकुने घटनामा करौडौं क्षति भएको भन्दै उजुरी दर्ता गरिएको छ । २ जनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनको ३८४ पृष्ठ लामो अनुसन्धान प्रतिवेदनसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

नाबालकसहित ६५ जनालाई प्रतिवादी बनाउने निर्णय गरिएको सहन्यायाधिवक्ता काफ्लेले बताए । अभियोगपत्रमा ११ जनालाई फरार प्रतिवादी बनाइएको छ । आरोपीहरूविरुद्ध प्रहरीले राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, ज्यानसम्बन्धी कसूर, ज्यान मार्ने उद्योग र संगठित अपराधसम्बन्धी कसूरमा मुद्दा चलाइनेछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार तीनकुने घटनाको अनुसन्धान प्रतिवेदनमा प्रहरीले १०८ जनालाई अनुसन्धान गरेको थियो । जसमा ९० जना पक्राउ परेका थिए । ५३ जना प्रहरी हिरासतमा छन् ।

प्रतिवादी दुर्गा प्रसाईले ज्यान मार्ने उद्योग गरेकोमा पीडितहरुलाई मुलुकी अपराध संहिता ०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ ।

त्यस्तै हरिहर चौलागाई, सरोज गौतम, सतिस न्यौपाने, गोकर्ष शाही, डन्डपानी रेग्मी, सन्तोष राजावादी, कुमार जैसवाल, हेमराज थारुबाट मृतक सुरेश रजकको हकवालालाई मनासिब क्षतिपूर्ति भराउने मागदाबी लिइएको छ ।

प्रदर्शनको क्रममा प्रसाई चढेको बागमती प्रदेश–०२७ च ३८४७ नम्बरको गाडी हुइँक्याउँदै प्रहरीको घेरा तोडेर बानेश्वर तर्फ अघि बढेपछि हिंसा भड्किएको थियो । प्रदर्शनमा संलग्नमध्ये राज्य विरुद्धको कसूरमा म्याद थप भएका २६ जना र आपराधिक उपद्रव कसूरमा म्याद थप भएका २७ जना हिरासतमा छन् । अनुसन्धानको क्रममा ३७ जनालाई हाजिर जमानीमा रिहा गरिएको छ ।

अनुसन्धान प्रतिवेदन :