प्रहरीले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको अनुसन्धान सकेको छ । आज त्यसको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो ।
उक्त प्रतिवेदनमा प्रहरीले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसमेत पेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको हो । आजै मुद्दा दर्ताको तयारी गरिए पनि समय अभावले आइतवार दर्ता हुने सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ ।
पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ । उक्त प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपाका महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका व्यक्तिहरू आरोपी छन् ।
प्रतिवादी बनाउनुपर्ने भनेर राय दिइएकामध्ये १८ जना फरार छन् । पक्राउ परेका र हाजिर जमानीमा छुटेका ९० जनालाई प्रतिवादी कायम गरिएको छ ।