कोशी सुरक्षा गोष्ठी : पहिचानको मुद्दा र व्यवस्थाविरोधी आन्दोलनले चुनौती

Yangle News
Yangle News
२०८२ जेष्ठ १ गते
कोशी सुरक्षा गोष्ठी : पहिचानको मुद्दा र व्यवस्थाविरोधी आन्दोलनले चुनौती

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । संघीय सरकारका गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा बुधबार विराटनगरमा सुरक्षा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा गृहमन्त्री रमेश लेखक, नेपाली सेनाका रथी निर्मल कुमार थापा, नेपाल प्रहरीका आईजीपी दीपक थापा, सशस्त्र प्रहरीका राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हतुराज थापालगायत सुरक्षा निकायका टोली सहभागी थिए । त्यसैगरी, प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू पनि गोष्ठीमा सहभागी थिए । जिल्ला सुरक्षा समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हुन्छन् ।

गोष्ठीमा प्रत्येक प्रमुख जिल्ला अधिकारीले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । गोष्ठीले पहिचानको मुद्दा र व्यवस्थाविरुद्ध आन्दोलनले प्रदेशको शान्ति सुरक्षामा चुनौती थपेको निष्कर्ष निकालेको छ । पहिचान र व्यवस्थाविरुद्ध हुने गरेको आन्दोलनले प्रदेशको शान्ति सुरक्षालाई खलल पुर्‍याउने भएकाले सचेतनाका लागि सुरक्षा निकायका प्रमुखहरूले कोशी ब्रिफिङ गरेका छन् । यसका साथै झापा, मोरङ र सुनसरी तराईका जिल्लामा हुने गरेका सीमावर्ती अपराधका घटनाले पनि सुरक्षा चुनौती थपिएको बैठकले निष्कर्ष निकालेको सहभागीहरुले बताएका छन् ।

धार्मिक र पहिचानको मुद्दाले कोशी प्रदेशमा जरा गाड्दै गरेकाले त्यसबारे सचेत हुनुपर्ने अवस्था आएको गृहमन्त्रीले तीनवटै सुरक्षा निकायका प्रमुखलाई ब्रिफिङ गरेका थिए । ‘कोशीमा पहिचान स्थापित गर्नुपर्छ भन्ने खालको विचारहरू उठेका छन् । पूर्वराजावादीहरूले फेरि राजतन्त्र ल्याउने भनेर गरिरहेका गतिविधिहरूले पनि समस्या उत्पन्न गराउन सक्छ,’ गृहमन्त्री लेखकले भनेका छन् ।

पहिचानको नाममा र धार्मिक मुद्दाले सुरक्षा चुनौती बढ्ने भएकाले राज्यका उच्च नेतृत्वले त्यसलाई कसरी निस्तेज पार्ने भन्ने रणनीति तयार गर्नुपर्ने गृह मन्त्रालयको नेतृत्वलाई सुझाव दिएका छन् । ‘लागूऔषध, सडक दुर्घटना, आत्महत्या, साइबर अपराधको कुरा पनि छ । तराई मधेशतिर जातीय द्वन्द्व, धार्मिक द्वन्द्वको कुरा, जातीय धार्मिक संघसंगठनहरूले आपसमा द्वन्द्व गरिरहेको अवस्था छ । यी सबै कुरालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा पनि गोष्ठीमा छलफल भयो,’ गृहमन्त्री लेखकले भने ।

सीमा क्षेत्रमा हुँदै आएको तस्करी एक महिनाभित्र पूरै रोक्न गृहमन्त्री लेखकले निर्देशनसमेत दिएका छन् । सीमा क्षेत्रबाट हुँदै आएको चोरी तस्करीले भन्सार राजस्व छल्ने मात्र नभएर कानुनको खिल्ली उडाउँदै देशभित्र र अन्तरदेशीय अपराधसमेत बढाइरहेको भन्दै उनले प्रभावकारी कदम चाल्न निर्देशन दिएका हुन् ।